वर्तमान नेपाली समाजमा साहित्यको अपरिहार्यता
राम्जी तिमल्सिना
समाजको दीर्घकालीन परिवर्तन गर्न मध्य दिनमा जुलुस निकालेर पुरानो रिस साँध्न छिमेकीको झ्यालको सिसा फुटाएर हँुदैन । यो त मानवीय सोच, विचार र संवेदनामा परिवर्तन गरेर मात्र सम्भव छ । समाजका प्रत्येक सदस्यमा असल भावना र विचारको सञ्चार गरियो भने उनीहरु प्रत्येकले आफूभित्रको असल तत्वसँग साक्षात्कार गर्न सक्दछन् र क्रमश: आफ्नो जीवनशैलीलाई त्यतैतिर मोडेर त्यसै अनुरुपका गुणहरुको विकास गर्दै जाँदा असल समाजको निर्माण हुन जान्छ । त्यसपछि यस प्रक्रियामा स्वत: अग्रसर हुन्छन् प्रत्येक नागरिक । गोपालप्रसाद रिमालका
आमा, त्यो आउँछ र ?
“हो बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
……………………………………
हेरौला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर त्यसलाई पछ्याउने छौ π”
भन्ने हरफहरुको समाज परिवर्तनका लागि प्रत्येक सदस्यको समयानुसार स्वत:स्फूर्त सहभागिता हुनेछ भन्ने अभिव्यक्तिले केही वर्ष भित्रै २००७ साल र त्यसपछिका महान् परिवर्तनहरुले भित्र्याएका र भित्र्याउन सक्ने उज्यालोतिरको यात्रालाई पूर्वकल्पना वा भविष्यवाणी गरेको थियो । देवकोटाले आफ्नो महाकाव्यमा प्रयोग गर्नुभएको ‘प्रमिथस’ को बिम्बले समाजमा व्याप्त अन्धकार र सिर्जनहीनतालाई चिर्न एकजना प्रमिथस जस्तो मानवमूल्य र आकाङ्क्षा बुझ्ने नि:स्वार्थ र साहसी युगनायकको कल्पनाले सो कविता बुझेर पढ्ने प्रत्येकलाई आज पनि म आफू प्रमिथसको प्रतिरुप हुन सक्छु वा सक्दिन भनेर एक पटक प्रश्न गर्न बाध्य पार्दछ । यो आत्मातिरको दृष्टिले कि त मानिसले आफूमा सम्भावना भेट्छ र सोही अनुसार काम गर्छ, कि त त्यस्तो सम्भावना भएको व्यक्तिलाई सो काममा प्रोत्साहन वा सहयोग गर्दछ । श्रवण मुकारुङको ‘विसे नगर्चीको बयान’ले जनआन्दोलन—२मा नेताको भाषणभन्दा बढ्ता काम गरेको हामीले देखेकै हाँै । दुुईचार उरन्ठेउला भेला गरेर कालो झन्डाको फेदमा बटुलेको ढुङ्गाले स्वतन्त्रताको टाउको फुटाएर टायरको आकासिदो धुँवाको मुस्लोमा समाज परिवर्तनको सपना देख्नुभन्दा कता हो कता बढी शक्तिशाली, शालीन, तीक्ष्ण र अमीट भएर परिवर्तनको महायज्ञमा सामेल भएर साहित्य आइरहेको देख्ने यो संसार साक्षी छ ।
आज नेपाली समाज परिवर्तनको सङ्गीन मोडमा छ भनिन्छ । यसो भनिदै आइएको छ दसकाँैदेखि । तर यो सङ्गीन मोड आजसम्म कहिल्यै मूलसडकको यात्रामा निस्केको देख्न पाइएको छैन । यो जहाँको त्यहीँ बारम्बार भोटो फेरेर रोइरहेको देख्ने इतिहास पनि अब पुरानो हुन लागि सक्यो । यसको कारण खोज्नु पर्ने बेला भएको छ अहिले ।
अहिलेको समाज विभेद र विभाजनको बाटोमा यात्रारत छ । संसारका प्रत्येक समाजको स्थिति त्यही र त्यस्तै भए पनि हाम्रोमा यो अझ गम्भीर पथमा भएको बुझ्न बालकको तर्क क्षमता नै पर्याप्त छ । यस्ता प्रमुख विभाजनहरु नारी/पुरुष, केन्द्र/मोफसल, अधिकार प्राप्त/अधिकार बिहीन, शिक्षित/अशिक्षित, आशाले भरिएका/निराशाले किचिएका, समालिएका/भड्किएका, उच्च/निम्न लगायत छन् । यी विभाजनहरुले बनाएका खाडल दिन परदिन गहिरिदै गएका छन् । अबको हाम्रो समाजको प्रमुख चुनौति भनेको नै यिनै खाल्डाहरुलाई क्रमश: पुर्दै लगेर अन्तिममा मेटाउनु हो । यसकै बीचबाट एकताको खोजी गर्नु हो । सम्भावनाहरुको पहिचान र व्यवस्थापन गर्नु हो । भौतिक सुखको प्राप्तिलाई केन्द्रमा राखेर कुदिएको वर्तमानको दौडले आफ्नो बाटोमा आइपर्ने सम्पूर्ण अवरोधहरुलाई पन्छाउँदा सद्भाव, मानवता, विवेक लगायत कैयाँै सकारात्मक सद्गुणहरु पहिलो आक्रमणका निसाना बनेका छन् । यो गुरिल्ला युद्धको सिकार भएको समाज उठ्न निकै कसरत गर्नुपर्ने गरी थला परेको छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मात्र मानवीय हितमा काम गर्न सकिन्छ, सर्वकल्याणकारी मार्गमा अगाडि बढ्न सकिन्छ भन्नु धेरैका लागि भैसीलाई गरुडपुराण सुनाउनु सरह हुन थालेको छ । आजका धेरै धर्म, दर्शन र राजनीतिक प्रयोगहरु समर्पणको आधारभूत मान्यताबाट बिमुख हुँदै गएका छन् । आफूलाई केन्द्रमा राखेर र राखिरहन गरिने आजको राजनीतिमा मान्छेहरुलाई विभाजन गर्न सक्नु भनेको कालकुटलाई घाँटीमा अड्काएर कैलाशमा तान्डवरत रहनु जस्तै भएको छ । देवता र दैत्यका नाममा बाँकी अरु युद्ध गरिरहने छन् र बेलाबेलामा तपस्या र शरणका लागि धाइरहने छन् । यो फुटाउ र शासन गरको नीति हाम्रो देशको राजनीतिको पनि प्रमुख निर्देशक सिद्धान्त जस्तै हुँँदै आएको छ ।
यहाँका अधिकांश नागरिक म कसरी अरुभन्दा असल फरक छु र सधँै यो फरकलाई कसरी टिकाइ रहन सक्छु भनेर चिन्तित देखिदैनन् । कसरी क्षणिक भौतिक प्राप्तिमा निर्लिप्त भएर जीवनलाई अहिलेकोभन्दा ऐयासी पार्न सकिन्छ भन्ने चिन्ता अधिकांशलाई भएको देखिन्छ । जसरी भए पनि भौतिक सुख–सुविधाको प्राप्तिमा समाजका अधिकांश सदस्यहरू जुटेको समय हो यो । यसो हुादा आधारभूत मानवीय संवेदना र सम्वन्धहरू सङ्कटमा परेका छन् ।
त्यस्तै आफ्नो मात्र परिचयको प्रश्न प्रमुख बनेपछि प्रत्येक परिवार पनि विभाजित छ । कसरी अरुको साथमा राखेरै सँगै आफूलाई पनि विकास गरेर अगाडि जान सकिन्छ भन्ने सोच अब झन्डै मिथक हुन अाँटिसक्यो । यहाँनेर आएर समाज निर्माणको आधारभूत मान्यता धरापमा परेको छ । समाज त यसका सदस्यहरुको समान र असल गुणहरुको एकीकृत व्यवस्थापन गर्दै खराब प्रवृत्तिको निरुपण गरेर सभ्यताको सिर्जनाको लागि निर्माण भएको हो । तर यस मान्यतालाई केन्द्रमा राखेर आजका कति प्रतिशत मान्छेहरुले सोचेका छन भन्ने प्रश्न गम्भीर छ । तर जतिसुकै व्यक्तिगत स्वतन्त्रताका कुरा गरे पनि भावनात्मक आदानप्रदान बिना मानिसले आफूलाई पूर्ण वा सुखी भएको महशुस गर्न नसक्दो रहेछ । उन्नाइसौँ शताव्दीका अङ्ग्रेजी कवि म्याथ्यु आर्नोल्ड आफ्नो प्रसिद्ध कविता “डोभर बीच”मा आफ्नी प्रेमिकालाई मध्यरातमा समुद्रतिर देखाउँदै भन्नुहुन्छ:
हे प्रेयसी,
हामी एकअर्काप्रति विश्वासिला बनौँ
ता कि हाम्रो अगाडि रहेको यो संसार
सपनाले भरिएको,
विविधता र सुन्दरताले भरिएको
र सर्वथा नयाँ देखियोस् ।
एक्लैहुँदा त यति सुन्दर संसार पनि मरुभूमि सरह हुने रहेछ । त्यसो भए ‘स्वकेन्द्रित जीवनशैलीको गन्तव्य दु:ख र निरासा बाहेक के पो होला र ?’ भन्ने प्रश्नले गाँज्ने भैगयो नि । यो सत्यवोध गर्न सहयोग पुऱ्याएर साहित्यले समाज निर्माणका लागि गर्ने पहिलो योगदानको आवश्यकताको पुष्टि दिन्छ । मानिसको भावनात्मक आवश्यकताको वोधले मात्र व्यक्तिगत प्राप्तिको म्यराथनमा सहभागी मानव वस्तीमा सार्वभौम समानता र आधारभूत समान मानवीय गुणहरुको समानताको खोजी गराउने हो रहेछ । समाज निर्माणको यो आधारभूत तथ्यतर्फ अब केहीले मानिसलाई फर्काउन सक्छ भने त्यो केवल एक मान्छेको अन्तरआत्माबाट निस्केको भावनात्मक अभिव्यक्ति अर्को मान्छेको अन्तरआत्माामा प्रवेश गर्ने वातावरणले मात्र सक्दछ । नत्र त कसले कसलाई किन र केका लागि वास्ता गर्नुपर्ने र अर्काको कुरा सुनेर किन केही कमाउने समय खेर फाल्नुपर्ने भन्ने कुरा उठिहाल्छ । उठ्दै आएकै पनि छ ।
विगतमा मानवीय एकताको सुत्रका रुपमा धर्मले काम गरेको थियो । धर्ममा विश्वास गर्नेहरुको बीचमा अहिले पनि यसले काम गरेकै छ । देखिन्छ । धर्ममा ईश्वरको रचना गरेर सबैको पुग्ने ठाउँ आखिर ईश्वरकै दरवार त हो नि भनेर सबै मान्छेको जीवनशैलीको आधारबिन्दू पहिल्याइएको थियो । यसले समाजविकासमा निकै ठुलो योगदान पुऱ्याएकै हो । प्रेरणा र डर दुवैको यो मिश्रण भएको अर्को शक्ति र साधन अब अरु केही देखिदैन । ईश्वरको मृत्यको घोषणा गर्नेहरुले सामाजिकीकरणको त्यो क्षमता राष्ट्रियतामा देखे । तर अहिले यो पनि केबल नारामा सीमित भएको छ । कमसेकम नेपालको हकमा यो एक कटु सत्य भएको छ आजसम्म आइपुग्दा । युरोप त राष्ट्रियता भन्दा माथि उठेर महादेशीय एकतातिर लागिसक्यो । विभाजनले मात्र केही नहुने रहेछ भन्ने कुरा व्यक्तिगत स्वतन्त्रताको सिद्धान्तका आविस्कारकहरुले बुझिसकेको यो समयमा अब धर्म र राष्ट्रियताको विकल्प खोज्नु परेको छ सामाजिक एकीकरण र विकासका लागि । यसका लागि धर्म र राष्ट्रियता दुवैले प्रयोग गरेको कल्पनाको सिर्जनामा भावनाको पहरेदारीले मानिस र समाजलाई अड्याएर राख्ने वैकल्पिक उपाय अब साहित्यमात्र बाँकी रहेको पाइन्छ । यी दुवैले विचारको सम्प्रेषणमा साहित्यको प्रशस्त सहयोग लिएको पनि देखिएकै हो । वेद, रामायण, महाभारत, गीता, बाइबल, कुरान जस्ता महान् साहित्यिक रचनाहरुकै प्रयोग गरेर धर्महरुले मानवीय सम्बन्ध, जीवनदर्शन, जीवनको लक्ष्य आदिका बारेमा मान्छेलाई आत्मैदेखि सबल र समर्पित पारेको पनि देखिएकै हो । सङ्गीतले भरिएको कविताको लयका भजनहरुले अहिले पनि एकाबिहानै मानिसहरु लठ्ठ भएर संसार बिर्सेको हामी देख्दै छाँै । यी र यस्ता आत्मवोधले जीवनमा आइपर्ने द्विविधाको समयमा बाँच्ने शक्ति र परिवर्तनको सम्भावनाले जीवन अगाडि लाने प्रोत्साहन र प्रेरणा समेत दिन्छन् । साथै जीवनका असल पक्षहरुको जानकारी दिँदै नकारात्मकताबाट सचेत रहन सक्षम हुँदा पाठक स्वत: मानवीय र गुणवान सामाजिक सदस्य हुन जान्छ । यसरी व्यक्तिलाई जीवनको मूल्य बुझ्न साहित्यले सहयोग गर्दा स्वत: एकले अर्कोलाई सम्मान गर्ने र दु:ख–सुखमा साथसहयोगका लागि तयार गराउने हुन जान्छ । आफ्ना निश्चित सीमाहरु भन्दा बाहिर निस्किएर मान्छेमाथि विश्वास गर्ने क्षमताको पनि विकास हुन्छ । रविन्द्रनाथ टैगोरको ँध्जभचभ तजभ :ष्लम ष्क ध्ष्तजयगत ाभबच” शीर्षकको कविता पढ्दा प्रत्येक पाठकलाई जातजाति, राष्ट्रराष्ट्र र परम्पराको नचाहिँदो बन्धनबाट मुक्त भएर समग्र मानवीय हितमा एकीकृत हुन प्रोत्साहन प्राप्त हुन्छ । एउटै साहित्यिक कृति पढिरहँदा संसारका सबै पाठकलाई उसको दु:ख वा सुखले भिजेको आत्माको अनुभव यो लेखकले कसरी टिप्न सकेको होला भन्ने पर्दछ । यो पढिरहँदा मान्छेबीचको विभेद स्वत: सकिएर एउटै उद्यानमा प्रत्येक मान्छे उभिएको हुन्छ । यसरी साहित्यले फरक परिस्थिति, सस्कृति, राजनीति, विचार र भुगोलका मान्छेलाई एउटै वा उस्तै भएको महसुस गर्न सहयोग पुुर्याउँछ । माधवप्रसाद घिमिरेको गौरी पढ्दा होस वा जोन मिल्टनको लिसिडास पढ्दा होस संसारका सबै मानिसको मन उस्तै संवेदनाले द्रवित हुन्छ । यति बेला जात, थर, वर्ग, लिङ्ग, राष्ट्रियता, विचार सबैथोक भुलेर पाठक केवल एउटा संवेदनशील मन भएको मान्छे मात्र बाँकी रहन्छ । सबै मान्छेको दु:खलाई आफ्नो दु:ख बुझ्दा मान्छेको असल पक्ष छर्लङ्ग देखिन्छ । यो क्षमता साहित्य (कविता, कथा, उपन्यास, नाटक, निवन्ध वा फिल्म) ले मात्र राख्छ आजभोलि । यस्ता साहित्यिक रचना पढिरहने वा पढिरहन पाउने हो भने मान्छेले सधँै केबल मान्छेकै संवेदना मात्र लिएर प्रत्येक विभाजनलाई बिर्सन सक्छ । यसरी हो साहित्यले मानवीय एकताका लागि काम गर्ने । यति मात्र होइन असल साहित्य पढिरहँदा पाठकले यो संसारमा दु:ख, समस्या, खुसी वा सुख पाएको मान्छे केवल म मात्र होइन रहेछ, यस्ता कैयौँ अरु पनि छन् र तिनको साथमा म रहँदा उत्तेजित वा अनावश्यक खुशी, वा दुखी वा निराश केही हुन जरुरी छैन भन्ने बुझाइले आत्मविश्वासको वृद्धि पनि गर्दछ ।
यसरी अहिलेको संसारभरमा जस्तै हाम्रै देशमा पनि विभिन्न विभाजनका रेखाहरुले मान्छेलाई एकअर्काबाट टाढाटाढा पुर्याउने कसरत गरिरहेको बेलामा साहित्य सिर्जना र पठनको विशिष्ट मूल्यवोध हुनपर्ने समय आएको छ । एउटा सुन्दर प्रेम कविता पढिरहेको कैलालीको चौधरी वा मनाङको गुरुङ वा रसुवाको तामाङ्ग, काठमाडौको नेवार, इटहरीको क्षेत्री वा पाचथरको लिम्बूले यो कुन सम्भाव्य प्रान्तको कुन जातिले लेखेको कविता हो भनेर विचार गरिरहने समयको खोजी गर्दैन वा त्यसतर्फ ध्यान दिँदैन । त्यो कविता तोया गुरुङ, अभि सुवेदी, कृष्णभुषण बल, शारदा शर्मा वा विक्रम सुब्बा कसले रच्नुभएको हो भन्ने कुराले उक्त पाठकलाई कुनै फरक पार्दैन । केवल त्यसको भावले सबै मानव पाठकलाई एउटै मानवीय धरातलमा समान भावनाका साथ उभ्याइ दिन्छ । संसारको विभाजनमुखी प्रवृत्तिबाट साहित्यले यसरी मुक्ति दिन्छ र समाजमा आफ्नो उपयोगिताको विना मुढेबल सरल प्रमाणसहित पुष्टि दिइरहेको हुन्छ । यसो गर्दा साहित्यले विभिन्न संस्कृतिहरुकाबीचमा पुलको काम पनि गरिरहेकै हुन्छ ।
सांस्कृतिक स्वतन्त्रता र अधिकार अनि समानताका वहसहरु चलिरहेको यस समयमा सबै संस्कृतिको संयोजनमा काम गर्ने एकमात्र उपाय अब साहित्य बाँकी रहेको छ । यो देशको कुनै केन्द्र वा कुनाको चौरमा नाचिने झाँगड नाच, चन्डी नाच, देउसी, धान नाच वा तामाङ्गसेलो मान्छेका उस्तै भावनाहरुका फरक शैलीका अभिव्यक्तिहरु भएकाले जोसुकैले पनि उस्तै चाख दिएर हेर्छ र त्यसमा रमाउँछ । मलाई भारतको पन्जाव प्रान्तमा आयोजित एउटा अन्तर्राष्टिय सेमिनारमा एक रसियन विद्धान नारीले गाउनुभएको रसियन गीतको एक शव्द नै नबुझे पनि त्यसको लयले मनसम्म प्रभाव पार्दा दर्जनौ देशका रसियन भाषा नबुझ्ने सहभागीहरुको साथमा म आफू पनि छमछम नाचेको सम्झना आउँछ । मनमा प्रभाव परे पछि अरु कुनै कुराले अवरोध गर्न नसक्ने रहेछ । अब त्यस्तै शक्तिको रुपमा साहित्यले काम गर्नुपर्ने भएको छ । अझ सङ्गठित र सशक्तप्रकारले । यसरी साहित्य र कलाको विकास र विस्तारले नै सांस्कृतिक विभाजनको आजसम्मको श्रृङ्खला टुटाउन सकिन्छ । यो नेपाली समाजमा साहित्यको अपरिहार्यताको अर्को प्रमाण हो । यहाँँनेर सबैले ध्यान दिनैपर्ने कुरा चाहिँ साहित्यको सञ्चार जगत्संगको सहकार्य हो । यस्तै नेपालका विविध संस्कृतिहरुको साहित्यमा चित्रण गरी संसारलाई बुझ्ने भाषामा पढ्न दिने हो भने विश्वको ध्यान हामीतिर तानिन्छ र यो साहित्यले समाज निर्माणमा दिन सक्ने अर्को योगदान हुनेछ ।
देशको चित्र कोर्न हम्मे परिरहेको यो समयमा प्रभावकारी रुपले समाजको विगत, वर्तमान र सम्भावित भविष्यको चित्र हाम्रा राजनेताहरुको मस्तिष्कमा हाल्न पनि आवश्यक भएको छ । कृष्णभुषण बलको “काठमाडौ एक्लैले काठमाडौ बोक्न सक्दैन” वा मनु मन्जिलको “विरोधाभाषको साम्राज्य” जस्ता कविताको भावलाई प्रसारण गर्न सके मेची–महाकालीको छिचोल्नै नसकिने हड्तालभन्दा बढी प्रभावकारी हुनेछ संचेतना वृद्धिका लागि । मन्जिलको “विरोधाभाषको साम्राज्य”मा चित्रित नेपाली समाजको मानसिकता र त्यसको समाज निर्माणमा परेको प्रभावको चर्चाकासाथ “यो देशको चित्र बरु नबनाउदै सुन्दर छ”मा टुङ्गिदा देशको विगत र वर्तमानको मन र मस्तिष्क छुने चित्रका साथ अब देशको नयाँँ चित्र नबनाउने होइन, बरु अहिले बनाउन खोजे भन्दा बढ्ता सिर्जनात्मक र मानवीय बनाउनु पर्दछ भन्ने दृढता झल्किन्छ । यो कुरा बुझेपछि पाठक पनि त्यसतिर अग्रसर हुनेछ । यतिखेर कविलाई प्राप्त हुने सन्तुष्टि र खुशीको तुलना केहीसँग पनि हुन सक्दैन । साहित्यले बिहान बेलुकाको छाक टार्न चामल किनिदिएन भनेर चिन्ता गरेर समय खेर फालिरहन जरुरी छैन भन्ने पनि यहीँ आएर स्पष्ट हुन्छ ।
नेपाली समाजको नवनिर्माणमा अहिले उठेको एउटा प्रमुख मुद्धा सीमान्तीकृतहरुको सबलीकरण पनि हो । आर्थिक, राजनीतिक र भौगोलिक दृष्टिले हेरेर केन्द्र र सीमान्तको परिभाषा गरिँदै आइएको छ आजसम्म । हो आर्थिक र राजनीतिक सबलता बिना र भौगोलिक अप्ठ्याराहरुलाई चिर्दै जीवनको सरलीकरण नगरी सबलीकरण सम्भव त छैन । तर के त्यतिमा नै सकिन्छ त उनीहरुको सशक्तिकरण ? त्यतिकै भरमा उनीहरुले विश्वसभ्यतामा आफ्नो योगदान दिन सक्छन त ? हो त्यति मात्र पयाप्त छैन । उनीहरुको संस्कृति, विविधता र विचारलाई चाखलाग्दो हुनेगरी विश्वग्रामतिर पुर्याए पछि र त्यताका पनि उनीहरुले प्राप्त गरेपछि मात्र यो प्रक्रिया पुरा हुनेछ । भौतिक प्राप्ति आवश्यक भए पनि आत्मिक सन्तुष्टिको स्तरमा त्यो कहिल्यै पुग्दैन । साहित्यले गर्नुपर्ने काम अब यहाँनेर पनि भेटिएको छ । कमसेकम नेपालमा लेखिने साहित्यले प्रत्येक जाति र संस्कृतिको सदस्यलाई म आफ्नो विवेकका साथ सभ्य भएर बाँचेको छु र मेरो यो देशको निर्माण र विश्व सभ्यताको विकासमा योगदान छ भन्न सक्ने गरी भावनात्मक सबलीकरण गर्न जरुरी छ । संसारका अन्य स्थानका सिमान्तीकृतहरुले लेखन मार्फत् कसरी आफूलाई केन्द्रकाहरु भन्दा पनि अगाडि पुर्याए भन्ने जानकारी साहित्यको पठन मार्फत प्रसारण गर्न जरुरी छ । अचेल विश्वको सर्वश्रेष्ठ साहित्यको नोवेल पुरस्कार पचासवर्ष अगाडिसम्म मात्र पनि चेतनाको छायामा मात्र बस्न पाउने अफ्रिकी र दक्षिण अमेरिकीहरुले नै वा उनीहरुको संस्कृतिमाथि लेखिएका पुस्तकहरुले प्राप्त गरिरहेका छन् भन्ने थाहा पाएपछि नेपालका प्रत्येक आदिवासीलाई प्रोत्साहन मिल्नेछ र उनीहरुको जीवनशैली, सोच र दृष्टिमा पक्का परिवर्तन आउनेछ ।
समग्र नेपाली नारीहरुको वौद्धिक र आत्मिक विकास गर्दै नेपाली समाजको निर्माणमा नारीहरुले कसरी चेतनाको प्रवाहमा योगदान गर्न सक्छन् भन्ने उपायको खोजी र सम्भावनाहरुको व्यवस्थापन पनि आजको नेपाली समाजको टड्कारो आवश्यकता हो । यसमा कसरी साहित्यले नारीको सचेतना र सामाजिक योगदानको विस्तार गर्न सक्ला भन्ने खोजी गर्नु पनि जरुरी छ ।साहित्यको सिर्जना र पठनमा नारीहरुको सहभागिता गराउन सफलता प्राप्त गर्दा पक्कै यस्तो उद्देश्य पुरा हुनेछ । नेपालको एउटा गाउँमा घाम पर्खेर जातो पिस्दै गरेकी एउटी नारीले यो देशमा पारिजात, देवकुमारी थापा, वानिरा गिरी, गीता केशरी, भागीरथी श्रेष्ठ, विन्द्या सुब्बा, पद्यमावती सिंह, सङ्गीता रायमाझी, ज्ञानु पान्डे, शारदा शर्मा हुँदै मिश्र वैजयन्ती र ज्योति जङ्गलहरुले पुर्याउनुभएको साहित्यिक र वैचारिक योगदानको पत्तो पाएका दिन आफूलाई नारी भएकामा हीनतावोधले ग्रस्त पार्नु पर्दैन । समानान्तर आकाश पढेकी एक नारीले अब आफ्नो स्वाभिमानको बाटो आफँै पहिल्याउने छिन् । मेचीदेखि महाकालीसम्म हजाराँै सचेत नारीहरु चेतनाको यात्रामा समाहित भएको खबर र साहित्यमा नारीहरुको परम्परागत भन्दा फरक चित्रण पढ्न पाउने प्रत्येक नारीले आफूलाई एक्लो र अबला महशुस गर्ने छैनन् । एउटा सुन्दर गीत रचेरै भए पनि यो यात्रामा आफ्नो सहभागिता जनाउने इच्छा प्रत्येक नेपाली नारीले राखेका दिन विश्व नारी सबलीकरणको नेपाल अध्याय पुरा हुनेछ । नारीहरु कसरी संसारमा ठुला परिवर्तनका संवाहक भएका छन् भनेर जानकारी दिन विश्व साहित्यबाट इमिली डिकिन्सन, जर्ज इलियट, भर्जिनिया उल्फ, अनि दक्षिण एसिया बाटै तसलिमा नसरिन, गायत्री स्पिभाक चक्रवर्ती जस्ता नारीहरुले सम्पूर्ण समाजलाई आफूतिर फर्केर एक पटक नयाँ सोचका साथ हेर्न वाध्य बनाएको कथा सुनेर, पढेर वा उनीहरुको विचार र भावना पठन मार्फत् ग्रहण गरेर नेपालका नारीहरुले आफ्नो भविष्यको सम्भावना पहिल्याउन र पछ्याउन सक्ने भएकाले यसमा साहित्यको महत्त्व र सम्भावित योगदानको धेरै वर्णन गरिरहनु पर्दैन ।
यी र यस्ता परिवर्तनका निमित्त मानवीय संवेदनाको धरातलमा उभिएको कल्पनाको क्षितिजपरको उज्यालोले भरिएको र अप्रत्यक्षरुपमा पाठकको भावनाको बाटो हुुँदै कल्पनाको किनारासम्म पुगेर उसको मनमस्तिष्कलाई एकाएक सिर्जनाको नियन्त्रणमा लिएर व्यक्तिले पत्तै नपाई स्वत: समाज निर्माणमा अग्रसर गराउन सहयोग पुर्याउने खालका साहित्यिक रचनाहरुको सिर्जना गरेर मात्र अब नेपाली साहित्यकारहरुले समाज निर्माणमा योगदान गर्न सक्नेछन् । अहिले बजारमा प्रशस्त देखिने गाली, घृणा र कुण्ठाले भरिएका ढुङ्गामुढा साहित्यले यस्तो काम गर्न नसक्ने भएकाले सानो मात्रामा नेपाली साहित्याकाशमा चम्किरहेको उज्यालोले भरिपूर्ण साहित्यिक रचनाहरुकै बाटोमा अबको प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता देखिन्छ । म्याक्सिम गोर्कीको आमा उपन्यास मानवीय संवेदनााको उत्कृष्ट नमूना भएकैले रुसी समाजको परिवर्तनमा शक्तिशाली अस्त्र भएर रहेको हो । त्यस उपन्यासको पात्रको दु:खलाई रुसका अधिकांश नागरिकहरुले कुनै एक वर्गको दु:खको रुपमा मात्र हेरेर होइन मान्छेलाई मान्छेका कारणले कतिसम्म दु:ख हुनसक्छ भन्ने तथ्यवोधका कारणले रुसको परिवर्तन सम्भव भएको हो । त्यो उपन्यासको पठनले संसारका कैयौ क्रान्ति र परिवर्तनहरुलाई उर्जा प्रदान गरेको छ । कुनै एक कवि, कथाकार, उपन्यासकार वा नाटककारले मस्कोको मूल सडकमा उभिएर जतिकै ठुलो स्वरमा शासकलाई गाली गरेको भए वा गालीको भाषामा त्यही कुरा लेखेको भए त्यो कि त हावामा उडेर विलाउँँथ्यो कि त उहिल्यै मस्कोका सुन्दरीहरुले चटपटेको खोलका रुपमा त्यसलाई प्रयोग गरिसक्थे । कारण मानवीय संवेदनाको सदुपयोग गरेर चेतना उचाल्न सकेन भने त्यो न त साहित्य हुन्छ न त समाज परिवर्तनमा त्यसको कुनै योगदान नै रहन्छ । त्यसैले ढुङ्गामुढा साहित्यले एकछिनलाई कुण्ठा शान्त पार्न सहयोग त गर्ला तर समाजको विकास र परिवर्तनमा त्यो वालुवामा एकथोपा थुक हराए जसरी हराउने छ । वाफ पनि देखिदैन, सिंचाइ हुने त कुरै भएन ।
तसर्थ आज साहित्यका सम्पूर्ण विधाहरुको विकास गरी फरकफरक पाठक वा श्रोताहरुलाई उनीहरुको रुचि अनुसारको माध्यमद्वारा भावनात्मक उत्प्रेरणा प्रदान गरी साहित्यलाई समाज निर्माणको सहयोगी बनाउन आवश्यक छ । साहित्यमा नोबेल पुरस्कार प्राप्त विचारक अल्बेयर कामुले भन्नुभए जस्तै कलासाहित्यको उद्देश्य मान्छेको स्तन्त्रता र उत्तरदायित्वको मात्रामा एकसाथ वृद्धि गर्ने हुनुपर्दछ । उसमा त्रास र घृणाको मात्रा बढाउने लेखन वा अन्य कुनै पनि सिर्जना समाजको दुश्मन हो । म पनि यही विश्वास गर्दछु । नेपालमा लेखिने साहित्यको आगामी बाटो पनि यही हुनु पर्दछ, समाजविकासमा साहित्यले योगदान पुऱ्याउनका लागि ।