विराज समाजको १३ औं वार्षिक साधारण सभाका प्रमुख अतिथिज्यू, अथितिज्यूहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरुमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछु ।
आदरणीय महानुभावहरु,
ओखलढुंगामा जन्मेर विभिन्न स्थान बसोबास गर्ने महानुभावहरुको जन्मभूमिप्रतिको अटुट आस्था, प्रेम र समर्पण भावले जन्मभूमिप्रति सामाजिक सेवाभावबाट योगदान गर्ने उद्देश्यले विधिवत् दर्ता भई स्थापना भएको विराज समाज विराज क्षेत्रको अपरिहार्य संस्थाको रुपमा परिचित भएको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहान्छु ।
यस समाजले हरेक वर्ष जेष्ठ नागरिक सम्मान, गरीब तथा असहाय बिरामीहरुलाई उपचारमा सहयोग, जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन, समाजमा उल्लेखनीय योगदान गर्ने महानुभावहरुलाई विराज सम्मान तथा शिक्षा प्रतिको रुचि अभवृद्धी गर्न एवम् असहाय विधार्थीहरुलाई प्रोत्साहन गर्न खेलकुद लगायत मानवीय तथा सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्दै आएकोमा कोभिड १९ का कारण समाजका नियामित कार्यक्रमहरु स्थगित हुन पुगे ।
अब म यस संस्थाले यस वर्षमा संचालन गरेका कार्यक्रमहरुको बारेमा संक्षिप्त रुपमा चर्चा गर्न चाहान्छु ।
हाजिरी जवाफ प्रतियोगिता आयोजना
यस विराज समाज आयोजक तथा बिगुटार माध्यमिक विद्यालय सहआयोजक भई २०७६ साल कात्तिक ६ गते बिगुटार मावि बिगुटारमा सञ्चालन भएको पिटर होज प्रिन्डल हाजिरी जवाफ प्रतियोगितामा नौ वटा माध्यमिक विद्यालयहरुको सहभागिता सम्पन्न भएको थियो । । अमेरिका जस्तो विकसित देशमा जन्मेर मानवशास्त्र÷समाजशास्त्र विषयमा विद्यावारिधिको शोधको सिलसिलामा ओखलढुङ्गा जिल्लाको बिगुटार गाउँ ( हाल सिद्धिचरण नगरपालिकाअन्तर्गत ) मा सन् १९७०–१९७२ (विसं २०२७–२०२९) सालसम्म बस्नु भई गाउको, भूगोल, रहन सहन र आर्थिक अवस्थाका विषयमा अध्ययन गर्नुभएका अमेरिकन नागरिक डा. पिटर होज प्रिन्डलको सम्मानमा समाजका आजीवन सदस्य श्री हरिहर दाहालको विशेष योगदानमा स्थापनामा भएको कोषबाट हाजिरी जबाफ कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा अमेरिकन नागरिक डा. पिटर होज प्रिन्डल र हरिहर दाहालको समेत उपस्थिति रहेको थियो ।
न्यानो कपडा,शैक्षिक सामाग्री र खाद्यान्न वितरण
विराज समाजले ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका ४ जरायटारको जलजलेश्वर गुरुकुल वेद विद्याश्रम मा.वि. र चिशंखुगढी गाउँपालिका ६ भदैरेको बालकन्या आधारभूत विद्यालयमा न्यानो कपडा, शैक्षिक तथा खाद्यान्त सामाग्री वितरण गरेको छ ।
गुरुकुल वेद विद्याश्रम मा.वि.मा सम्पन्न भएको कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद दाहालले गाउँपालिकाका अध्यक्ष मणिराज राई र उपाध्यक्ष हेमकुमारी तामाङको विशेष उपस्थितिमा विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री र खाद्यान्न वितरण गर्नु भएको थियो ।
विराज समाजले चिशंखुगढी गाउँपालिका ६ भदैरे बालकन्या आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक पीताम्बर दाहाललाई हस्तारण गरिएको न्यानो कपडा विद्यालयले एक कार्यक्रम आयोजना गरि वडा अध्यक्ष कृष्णबहदुर मगर तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज खतिवडाले विधार्थीहरुलाई वितरण गर्नु भएको छ ।
जलजलेश्वर गुरुकुल वेद विद्याश्रम मा.वि.मा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मणिराज राईले विराज समाजले हरेक वर्ष गरेका कार्यहरुको प्रशंसा गर्दै गाउँपालिकाको तर्फबाट धन्यवाद दिनु भएको थियो । कार्यक्रममा विराज समाजका सल्लाहकार प्रा. मुकुन्दराज दाहाल,सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, आजीवनहरु सदस्यहरु विमला दाहाल,प्रतिमा दाहाल, ओम खत्री, सुमन थापा, सुनिल श्रेष्ठको उपस्थिति रहको थियो ।
यस वर्ष ओखलढुंगामा वितरण गरिएको न्यानो कपडा,शैक्षिक सामाग्री र खाद्यान्त खरिद गर्न समाजका आजीवन सदस्य विमला दाहालले रु ६५ हजार आर्थिक सहयोग गर्नु भएको थियो भने समाजका अध्यक्ष रामप्राद दाहाल, सल्लाहकार सुमन दाहाल, आजीवन सदस्य हरिहर दाहाल, समाजका जेष्ठ सदस्य तेजप्रसाद दाहाल, सरस्वती दाहाल, प्रतिमा दाहाल, आशना दाहाल ज्ञवली, पेस्किला दाहाल, सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, ओम खत्री, दुर्गाबहादुर खत्रीले समेत आर्थिक सहयोग गर्नु भएको थियो ।
विराज समाजले खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं पाँच घोर्लेका विधार्थीहरुले अध्ययन गर्ने चिसापानी नमुना मा.वि.र जनबहुमुखी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।
गत पुस १० गते शुक्रबार खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं पाँच घोर्लेको जनबहुमुखी आधारभूत विद्यालयमा एक कार्यक्रमका बिच निवर्तमान अध्यक्ष दिनेशकुमार मगरले जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राई तथा उपाध्यक्ष बिमला राईको विशेष उपस्थितिमा विधार्थीहरुलाई कपडा र शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । जन्तेढुंगा गाउँपालिका तथा स्थानीयहरुले निर्वतमान अध्यक्ष मगरलाई भव्य स्वागत र सम्मान समेत गरेका थिए ।
गाउँपालिका अध्यक्ष शंकार राईले विराज समाजले आफ्नो गाउँपालिकासम्म आएर विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेकोमा समाजका निवर्तमान अध्यक्ष दिनेशकुमार मगरलाई विशेष धन्यवाद दिनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनबहादुर राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्ष रामकुमार श्रेष्ठ, चिसापानी नमुना मा.वि.का प्रधानाध्यापक रामबहादुर राउतले समेत विराज समाजले गरेका कार्यको प्रसंशा गर्नु भएको थियो भने जनबहुमुखी आधारभूत विद्यालयकी प्रधानाध्यापक जुनिता राईले विराज समाज प्रति आभार प्रकट गर्नु भयो ।
खोटाङमा वितरण गरिएको न्यानो कपडा र शैक्षिक सामाग्री खरिद गर्न समाजका निवर्तमान अध्यक्ष दिनेश कुमार मगर विशेष आर्थिक सहयोग गर्नु भएको थियो भने आजीवन सदस्य रमिला श्रेष्ठले समेत आर्थिक सहयोग गर्नु भएको थियो ।
उदयपुरको कटारी नगरपालिका वडा नं. ५ मा विराज समाज र ट्याक्सनटुरले न्यानो कपडा वितरण गरेको हो । कटारी नगरपालिका उपमेयर भीमकुमारी राउतको प्रमुख आतिथ्य तथा वडाध्यक्ष शङ्कर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिविपन्न परिवारका ७० जनालाई न्यानो कपडा वितरण गरिएको थियो ।
न्यानो कपडा वितरण कार्यक्रममा उपमेयर भीमकुमारी राउतले कटारीसम्म आएर विराज समाज र ट्याक्सनटुरका संचालक ओमबहादुर खत्रीले गरेको मानवीय कार्यप्रति विराज समाज र खत्रीको प्रशंसा गर्नु भयो । वडाध्यक्ष शङ्कर राईले काठमाण्डौदेखि आफ्नो वडालाई सम्झिएर आई असहाय परिवारका नागरिकलाई न्यानो कपडा वितरण गरेकोमा विराज समाज र ट्याक्सन टुरलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा विराजका सल्लाहकार केशव दाहालले विराज समाज प्रसिद्धिका लागि होइन सिद्धिका लागि कार्य गर्ने संस्था रहेको बताउनु भयो । विराज समाज अध्यक्ष रामप्रसाद दाहाल, निर्वतमान अध्यक्ष दिनेशकुमार मगर, सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवालले विराज समाजले गरेको समाजिक कार्यहरुको चर्चा गर्नु भएको थियो । विराजले कटारीमा वितरण गरिएको न्यानो कपडा खरिद गर्न ट्याक्सनटुरका संचालक ओमबहादुर खत्रीले विशेष आर्थिक सहयोग गर्नु भएको थियो । न्यानो कपडा , शैक्षिक सामाग्री तथा खाद्यान्न विरण कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
विराज सम्मान २०७७
समाजले हरेक विराज क्षेत्र तथा समाजको वार्षिक साधारण सभामा प्रदान गर्दै आएका पुरस्कार तथा सम्मानहरु कोभिड १९का कारण यस वर्ष प्रदान गर्नु नसकिएको जानकारी गर्दछु । आगामी वार्षिक कार्यक्रममा समाजले प्रदान गर्ने पुरस्कार तथा सम्मानहरु भव्य रुपमा प्रदान गरिने छ ।
आदरणीय महानुभावहरु ,
अव म संस्थाका भावी योजना तथा कार्यक्रम सम्बन्धमा संक्षिप्त दृष्टिकोण राख्न चाहन्छु ।
कुनै पनि कार्यक्रम संचालन गर्न सोच, पूँजी तथा जनशक्ति आवश्यता पर्ने भएको हुँदा सामाजिक क्षेत्रका कार्यहरु गर्न तत्परता, प्रतिवद्धता र इच्छाशक्तिको जरुरत हुने कुरा सर्वविबितै छ । उपलब्ध भएका स्रोतसाधनहरुलाई मध्यनजर गरी यस चालु आ.व.मा निम्नअनुसारका भावी योजनाहरु प्रस्तावित गरेको छु ।
भावी योजनाहरु
१. विराज शिक्षा पुरस्कारलाई निरन्तरता दिने तथा जेष्ठ नागरिक सम्मानको विगतको स्वरुप तथा ढाचा परिवर्तन गरी निरन्तरता दिने ।
२ विराज क्षेत्र भ्रमणलाई निरन्तरता दिने ।
३. सिद्धिचरण नगरपालिकामा मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने ।
४. विराज विशेष सम्मान प्रदान गर्ने ।
५ विराज तीज विशेष सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने, ।
६. विराज कल्याणकारी कोषको कार्यविधि तयार गर्ने ।
७. विराज क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागि विशेष पहल गर्ने ।
८. कला, संस्कृति र साहित्य क्षेत्रको विकासका लागि स्रष्टा सम्मान लगायत अन्य कार्यक्रम थालनी गर्ने ।
९ विराज कोष अभिवृद्धिका लागि देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।
१०. स्वास्थ्य शिविर संचालन गर्न कार्यक्रम आयोजना गर्ने ।
११. स्रोत अभिवृद्धि गरी कानूनी साक्षरता तालिम तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने ।
१२. ओम समाज डेन्टल हस्पिलसँग सहकार्य गरि कार्यक्रमहरु संचालन गर्ने ।
१३.आर्थिक स्रोत जुटाएर प्रकृतिक प्रकोपबाट पीडितहरुलाई सहयोग गर्ने ।
१४. विराज कोषमा १२ लाख रहेकोमा सो कोषमा वृद्धि गरी न्यूनमत् १५ लाख पुर्याउने ।
१५. सामाजिक हितका अन्य कार्यक्रमहरु गर्ने ।
उल्ेिखित कार्यक्रम संचालन गर्न यहाँहरुको समेत अहम भूमिका रहने कुरा स्मरण गराउन चाहन्छु ।
समाजको विकास र उन्नयनमा यो कार्य समितिले गरेको कार्यहरुको यहाँहरुले समीक्षा गर्नु हुने नै छ । सिमित स्रोत साधानका बिच पनि समाजले गरेका कार्यहरुमा यहाँहरुको सहयोग ,सहभागिता र सद्भावको यस गरिमाय सभामा उच्च सम्मान गर्दै भविश्यमा पनि निरन्तर सहयोग प्राप्त हुने छ भन्ने पूर्ण विश्वास लिएको छु ।
अन्त्यमा, विराज समाजका सामाजिक कार्यक्रमहरुलाई ओम समाज डेन्टल हस्पिटलले विषेश सहयोग गर्दै आएको छ । यसका लागि ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरेज्यूलाई विशेष धन्यवाद प्रकट गर्दछु । आजको साधारणसभामा उपस्थित अतिथिज्यूहरु, सल्लाहकारज्यूहरु, सञ्चारकर्मी साथीहरु र संस्थाका सवै शुभेच्छुक महानुभावहरु तथा यस साधारणसभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । आजको १३ औं वार्षिक साधारण सभाबाट निर्वाचिन कार्य समितिलाई अग्रिम बधाई तथा शुभमना समेत प्रकट गर्दछु । धन्यवाद । जय विराज समाज ।
रामप्रसाद दाहाल
अध्यक्ष
२०७७ फागुन १ गते