मुस्कुराउन नभन्नुहोस
हामीले हिजो
रोप्न खोजेका हौँ वोधिवृक्ष
बन्दुकको नालमा
बन्दुककै कुञ्जोमा
खोपेका हौँ बुद्धको पुरानो तस्बीर
र हेर्न खोजेका हौँ
स्वाधीनताको आँगनमा
परेवाहरु चरो टिपिरहेका
गञ्जकमै घुरिरहेका
तर—
मध्य आकासमै परे
बाजको पञ्जमा परेवाहरु
पुर्खाको रगतले लोट्याइएका
स्वाधीनताका आँगनमा
काला मान्छेहरुले चाल्न थाले
चेसका काला गोटीहरु
त्यसैले महाशय !
यतिखेर म
कसरी लेखौँ हर्षका कविता ।
मेरो बाबुको पुरुषत्व ओछ्याइएको
यो कालो सडकमा
सयर गर्छन् धृतराष्ट्रहरु
मेरी आमाको छालालाई
किर्ते कागज सम्झेर
हस्ताक्षर गर्छन् रगतको मसीले
अनि बेच्छन्
सुसेल्दै गरेको नदीको सुसेली
नजिकमा बसेर
अट्टहास हासो हासिरहने
महा नायकहरुलाई
अब भन्नुहोस् महाशय
कुन खुसीमा बगाइदिऊ
ओठको किनाराबाट
अबिश्राम मुस्कानको नदी ।
पाखाभरि रक्ताम्य
गुराँसका थुङ्गाहरुमा पोतिएका थिए
पुर्खाहरुका काँचो रगत
पुर्खाहरुकै रगतले रङ्गाइएको
गुराँसका थुङ्गाहरु हराए पाखाबाट
यसरी ओर्लिएपछि
विपत्तिको पहिरो
असह्य भएर बुद्धले
आत्महत्या गरे
बोधिवृक्षमा पासो लागेर
स्वाभिमानका साथ
सगरमाथाको टाउकोमा मुस्कुराइ रहेको
चन्द्र सूर्य लत्रिएपछि
अब भन्नुहोस् महाशय
कसरी उत्सव मनाऊँ म
शोक धुन रचिरहेका
सङ्गीत शिल्पीको छेउमा बसेर
यो सन्नाट पर्यावरर्णमा
उ ––– त्यो
घुर्मैलो क्षितिजमा
परेवाहरुले उत्सव मनाउन थालेपछि
यो धर्तीमा
स्वाधीनताका मुर्चुङ्गा र विनायो
बज्न थालेपछि
म मुस्कुराउने छु
म यही आसमा बाँचेको मान्छे
यो धर्तीमा स्वतन्त्रताको च्याब्रुङ
घन्कन थालेपछि
स्वाधीनताका झ्याम्टाहरुले
विद्रोह गर्न थालेपछि
म मुस्कुराउने छु
एक अञ्जुली मुस्कान
त्यसैले महाशय
मलाई मुस्कुराउन नभन्नुहोस् ।
विजय ‘ विश्वास’
धरान–१४, सुनसरी
हाल— काठमाण्डौँ
मो.—९८४९६५४२८८