ढुंगा, कवि, कविता र ऐतिहासिक्ता
जीवन शर्मा
तिम्रै सुन्दर हरियालीमा
तिम्रै सितल वक्षस्थलमा
यो कविको शैसव काल वित्यो
हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो
मेरो पियारो ओखलढुङ्गा……..
ढुंगा, कवि, कविता र ऐतिहासिक्ता वास्तवमा यि चारै परिकारको स्वाद छुट्टा छुटट्ै भएपनि यिनिहरुकै मिलनले ओखलढुंगाको इतिहास लेखिन सहयोग पुगेको छ । जिल्ला सदरमुकाम ओखलढुङ्गा ६ गणेशटोल (हाल सिद्धिचरण नगरपालिका वडा नं. ५)मा अवस्थित अढाइ शताब्दि पहिले आफ्नो जन्मस्थल बनाएर गजक्का बसेको ओखलढुङ्गाले छुटृै ऐतिहासिक महत्व बोकेको छ । र यसै ढुंगालाइ आधार मानेर युग कवि सिद्धिचरण श्रेष्ठले आफ्ना मनका भावहरु कलमी माध्याम बाट साहित्यिक पाराले पोखेका छन् । यदी ढुंगा नभइदिएको हो भने कविले ओखलढुंगालाइ यसरी चिनाउँन सक्दैनथे होलान । र ढुंगाको अभावमा यि कविताका हरफहरु नफुर्दै गर्दा सायद कविलाइ पनि यति ठुलो चर्चाको शिखरमा पुग्न मुस्कीलै पथ्र्यो होला । त्यसो हुँदा ओखलढुंगा जिल्लाको ऐतिहासिक पहिचान यो भन्दा फरक हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यसैकारण यहाँ ढुंगा, कवि, कविता र ऐतिहासिक्ता यि चारै परिकारको स्वाद छुटट्ै छ भनिएको हो । माथि उल्लेखित चारै परिकारको क्रमशः मेल हुँदै गर्दा ओखलढुंगाको इतिहास लेखिएको बुझ्न सकिन्छ । विरेन्द्र पार्कबाट करिब आधा किलोमिटर उत्तर पश्चिममा पर्ने सिद्धिचरण पार्क,सरस्वती मन्दिर र अलि परको भैरवनाथ, रघुविरेश्वर महादेव मन्दिर तथा गणेश मन्दिर नजिकै बीच सडकमा रहेको यो ढुंगालाई २०५३ सालमा कर्मचारी मिलन केन्द्रको सहयोगमा ६ फिट अग्लो ढुंगाकै बाटुलो पर्खाल बनाएर राखिएको स्थानीय बद्धिजीवि नारायणबहादुर सैंजूले बताए । ढुंगाको नजिकै दायाँ र बायाँ राखिएका छन्, सिद्धिचरण श्रेष्ठले लेखेको ‘मेरो पियारो ओखलढुङ्गा’ कविताका हरफहरु र कविको अर्धकदको सालिक । ओखलढुंगाको दायाँ पटृी रहेको कविता लेखेको शिलालेख हराइसकेको छ । यो कहाँ र कहिले हरायो पत्ता लाग्न नसकेपछि त्यही ठाँउमा ‘मेरो पियारो ओखलढुङ्गा’ कविताका हरफहरु साइनबोर्डमा यसरी सजाइएको छ ।
कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन प्रकृति
मृग–शावकहरु उफ्री–उफ्री
तरु–लतीकाहरु हल्ली–हल्ली
मेरो पियारो ओखलढुङ्गा ………….
नेपालको ७५ जिल्लाहरुमध्ये थुप्रै प्रकृतिक छटा र पर्यटकीय सम्पदाहरुले भरिपूर्ण ओखलढुङ्गाको नाम यही ओखल आकारको ढुंगाबाट रहन गएको ऐतिहासिक दस्तवेजहरुमा भेटिन्छ । यो ढुंगा कसरी आयो भनेर आधिकारिकता नभएपनि मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तार गर्न काजी भिम मल्ललाई यस भेगमा पठाएका थिए । यसै क्रममा काजी भिम मल्लले यहाँ राज्य चलाएर बसेका किराँतहरुलाई लखेटी आफ्नो राज्य स्थापना गर्न आएको उनका फौजीले केही खानेकुरा नपाएपछि आफैँले ल्याएको धान यही ठूलो ढुंगाको खोपिल्टोमा कुटेर भात पकाइ खाएको हुँदा त्यही ढुंगाको ओखलको नामले यो ठाँउको नाम ओखलढुंगा रहन गएको किम्वदन्ती छ । यसैलाई जोड्दै ओखलढुङ्गा ६ का स्थानीय एंव ओखलढुङ्गा क्याम्पसका क्याम्पसका प्रमुख नारायणबहादुर सैंजु भन्छन्, मल्ल राजाले राज्य विस्तार गर्ने क्रममा तत्कालीन पूर्व तीन नम्बर क्षेत्र (हालः ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु तथा सिन्धुली र उदयपुरका केही भेगहरु) मा आएर लडाई लड्दा फौजहरुले ढुंगाकै मुस्लि बनाइ यही ढुंगाको खोपिल्टोलाई ओखल मानेर धान कुटी भात खाएकाले ओखलढुङ्गा नामकरण हुन पुगेको हो ।’
उसबेला राज्य एकिकृत बनाउने शिलशिलामा धान कुटेर भात खाएका कारण राज्य विस्तारमा यस ढुंगाले ठुलो सहयोग गरेको थियो भन्ने जनश्रुति रहेको पाइन्छ । यस कारण पनि ओखलढुंगाको थप ऐतिहासिक महत्व रहेको छ । ओखलढुंगालाई धार्मिक दृष्टिकोणले त्यति महत्वपूर्ण नमाने पनि ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थानको रुपमा लिइन्छ । यहाँको वातावरण, हावापानी र भौगोलिक अवस्था रमणीय हुँदाहुँदै पनि आजसम्म धेरै पर्यटकहरुको गन्तव्य बन्न सकेको छैन । यहाँको ऐतिहासिक महत्व बोकेको भैरवनाथ, रघुविरेश्वर महादेव र गणेश मन्दिर हुन् । ओखलढुंगा नजिकै रहेको एक सय बर्ष पुरानो भैरवनाथ तथा रघुविरेश्वर महादेव मन्दिर स्थलमा पहिले एउटा ढुंगा थियो । जसलाई फुटाउँदा रगत आएको र स्थानीयहरुलाई राती सपनामा ‘म भैरव हुँ, मलाई मन्दिर बनाएर राख’ भनेको हुँदा मन्दिर बनाई पूजा अर्चन गर्न थालेको किम्मदन्तीहरु छन् । यस्तै गणेश मन्दिर स्थलमा पनि पहिला सपनामा बाघ आउने, कराउने गर्ने भएको हुँदा तत्कालीन राणा सरकारका पालामा पाटी बनाउन पाउँ भनि गुठी स्थापना गरेको र त्यही गुठीको सहयोगमा गणेश मन्दिर निर्माण गरेको स्थानीय बुद्धिजिवीहरु बताउँछन् ।
यी ऐतिहासिक धरोहरहरुलाई संरक्षण गरी अझ पर्यटकीय गन्तव्य बनाउन सके यस ठाँउमा आन्तरिक तथा बाह्य पर्यटकहरुको ओइरो लाग्ने कुरामा दुइमत देखिदैन । यिनै ऐतिहासिक र पर्यटकीय वस्तुस्थितिलाई चित्रण गर्दै कवि श्रेष्ठले ओखलढुङ्गालाई यसरी व्याख्या गरेका छन्
त्यो ढुंगा, त्यो खोला, त्यो रुख
त्यो वन, त्यो लतिका, त्यो चिरसुख
यो हृदय केन्द्रमा स्नेह जडिता
चम्काइ रहेछ आज क्षण–क्षण
मेरो पियारो ओखलढुंगा ……………………
साँच्चिकै माटोको मायाले नै होला कवि श्रेष्ठलाई यी कविताका हरफहरु प्रस्फुटन भएका । पिता विष्णुचरण श्रेष्ठ ओखलढुङ्गामा मालका हाकिम भएर सात बर्ष बस्दा सिद्धिचरण श्रेष्ठ ६ बर्षका थिए, उनको जन्म पनि अहिलेको ओखलढुंगा नजिकै भएको थियो । जहाँ हाल उनकै अर्ध कदको प्रतिमा रहेको छ । मालबाट सरुवा भै पुनः आफ्नो स्थायी घर काठमाण्डौं ओमबहालमा फर्केपछि १९ बर्षको कलिलो उमेरमा सिद्धिचरण श्रेष्ठले मेरो पियारो ओखलढुङ्गा कविता रचेका हुन् ।
ओखलढुङ्गा बजारको ऐतिहासिक पृष्ठभूमि
नेपाललाई तत्कालीन समयमा ३५ जिल्लामा विभाजन गरिएपश्चात् ओखलढुङ्गा सदरमुकामबाट किरातहरु गाउँ–गाउँ पसे । बन्द व्यापार र आफ्नो जीवन निर्वाहका लागि ओखलढुङ्गा बाहिरबाट नेवार जातिहरु आउन लागे विस.ं १९३७ मा नै लोदिङबाट भक्तपुरे राजभण्डारी, मल्ल र पाटनबाट शाक्यहरु आएर स्थापित भै सकेका थिए । विसं. १९७० सम्म आइपुग्दा लाखे, बजिमय, मास्के, सैजु, राजभण्डारी, गज्याङ, मकाजु, भौकाजी गरि विभिन्न थरका नेवार जातिहरु भक्तपुर, बनेपा, दोलखा, धुलिखेल, ठोसेमेक्चन, बुइपा हलेसी, रामेछाप, भोजपुर लगायतका ठाँउहरुबाट आइ व्यापार व्यवसाय गरी बसोबास गर्दै आएका थिए । अहिले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ३ रमाइलोडाँडा र कमेरेडाँडा, वडा नम्बर ५ को तल्लो हुलाक भञ्ज्याङ, गणेशटोल, भैरवटोलमा पूर्णरुपमा बजारको विकास भइसकेको छ । ओखलढुङ्गा बजारमा प्रायः दैनिक उपभोग्य सामाग्रीहरु लगायत सबै प्रकारका आवश्यक सामाग्रीहरु पाइन्छ ।
धार्मिक हिसाबले यस बजारमा कालिकादेवी, जाल्पादेवी, भिमसेनस्थान, भागवतीस्थान, बटुक भैरव महादेव स्थानहरु रहेका छन् । रमाइलोडाँडामा एउटा चर्च छ । केही बर्ष अघि सम्म साउन भदौको समयमा लाखे, रोपाँई जात्रा, नाटकहरुबाट अत्याधिक मनोरञ्जन लिने यहाँका बजारवासीहरु हाल आधुनिक प्रविधिमा रमाउन थालेका छन् । त्यस्तै सदरमुकाम बजार नजिकै रहेका ऐतिहासिक स्थलहरु ओखलढुङ्गा, सिद्धिचरण श्रेष्ठको अर्धकदको सालिक, सहिद स्तम्भ, विरेन्द्रपार्क, थामडाँडा , सिद्धिचरण नगरपालिका ५ मा रहेको प्रत्येक हप्ताको बुधबार र शानिवार लाग्ने विशाल हाटले यस जिल्लामा थप आकर्षण बढाएको छ । सरस्वतीडाँडा यहाँको अति रमणीय स्थल हो । जहाँबाट पुरै बजार वरीपरी रमाइलो दृष्य तथा हिमश्रृंखला र पर्वतहरु अवलोकन गर्न सकिने हुँदा यि सम्पदाहरुको संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउँन सके ओखलढुंगाको आयस्तर बृद्धिमा थप टेवा पुग्ने निश्चित छ ।
लेखक ओखलढुंगा सन्देश साप्ताहिकका प्रधान सम्पादक हुन् ।