विराज समाज र ट्याक्सनटुरलद्धारा कटारीमा न्यानो कपडा वितरण
उदयपुरको कटारी नगरपालिका वडा नं। ५ मा विराज समाज र ट्याक्सनटुरले न्यानो कपडा वितरण गरेको छ । कटारी नगरपालिका उपमेर भिमकुमारी राउतको प्रमुख आतिथ्य तथा वडाध्यक्ष शङ्कर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिविपन्न परिवारका ७० जनालाई न्यानो कपडा वितरण गरियो ।
न्यानो कपडा वितरण कार्यक्रममा उपमेयर भीमकुमारी राउतले कटारीसम्म आएर विराज समाज र ट्याक्सनटुरका संचालक ओमबहादुर खत्रीले गरेको मानवीय कार्यप्रति विराज समाज र खत्रीको प्रशंसा गर्नु भयो । वडाध्यक्ष शङ्कर राईले काठमाण्डौदेखि आफ्नो वडालाई सम्झिएर आई असहाय परिवारका नागरिकलाई न्यानो कपडा वितरण गरेकोमा विराज समाज र ट्याक्सन टुरलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा विराजका सल्लाहकार केशव दाहालले विराज समाज प्रसिद्धिका लागि होइन सिद्धिका लागि कार्य गर्ने संस्था रहेको बताउनु भयो । विराज समाज अध्यक्ष रामप्रसाद दाहाल, निर्वतमान अध्यक्ष दिनेशकुमार मगर, सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवालले विराज समाजले गरेको समाजिक कार्यहरुको चर्चा गर्नु भएको थियो ।
सिसाघारी कृषक समूहका अध्यक्ष भुपराज अधिकारी, वडा सदस्य गीता ढुंगानाको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण दिलबहादुर अधिकारीले गर्नु भएको थियो । विराजले कटारीमा वितरण गरिएको न्यानो कपडा खरिद गर्न ट्याक्सनटुरका संचालक ओमबहादुर खत्रीले विशेष आर्थिक सहयोग गर्नु भएको थियो । न्यानो कपडा वितरण कार्यक्रममा सिसाघारी कृषक समूहका सदस्य विनोद कार्की र सिसाघारी ताल संयोजक शङ्कर कटवालले विशेष सहयोग गर्नु भएको थियो ।
विराज समाजले खोटाङमा न्यानो कपडा शैक्षिक सामाग्री वितरण
विराज समाजले खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं पाँच घोर्लेका विधार्थीहरुले अध्ययन गर्ने चिसापानी नमुना मा।वि।र जनबहुमुखी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।
गत पुस १० गते शुक्रबार खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं पाँच घोर्लेको जनबहुमुखी आधारभूत विद्यालयमा एक कार्यक्रमका बिच निर्वमान अध्यक्ष दिनेशकुमार मगरले जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राई तथा उपाध्यक्ष बिमला राईको विशेष उपस्थितिमा विधार्थीहरुलाई कपडा र शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । जन्तेढुंगा गाउँपालिका तथा स्थानीयहरुले निर्वतमान अध्यक्ष मगरलाई भव्य स्वागत र सम्मान समेत गरेका थिए ।
गाउँपालिका अध्यक्ष शंकार राईले विराज समाजले आफ्नो गाउँपालिकासम्म आएर विधार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेकोमा समाजका निर्वमान अध्यक्ष दिनेशकुमार मगरलाई विशेष धन्यवाद दिनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनबहादुर राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्ष रामकुमार श्रेष्ठ, चिसापानी नमुना मा।वि।का प्रधानाध्यापक रामबहादुर राउतले समेत विराज समाजले गरेका कार्यको प्रसंशा गर्नु भएको थियो भने जनबहुमुखी आधारभूत विद्यालयकी प्रधानाध्यापक जुनिता राईले विराज समाज प्रति आभार प्रकट गर्नु भयो । जनबहुमुखी आधारभूत विद्यालयको स्थापना समाजसेवी इच्छा बहादुर राईले गर्नु भएको थियो । कार्यक्रममा समाजसेवी इच्छा बहादुर राईको विशेष योगदानको स्मरण समेत गरिएको थियो ।
खोटाङमा वितरण गरिएको न्यानो कपडा र शैक्षिक सामाग्री खरिद गर्नु समाजका निर्वमान अध्यक्ष दिनेश कुमार मगर विशेष आर्थिक सहयोग गर्नु भएको थियो भने समाजसेवी रमिला श्रेष्ठले समेत आर्थिक सहयोग गर्नु भएको थियो ।