रातो काँच
महेश कुमार राई
राँगादीप ५
धुम्मिएको दिन थियो । दोधार थिए म बानेश्वर जानलाई । मन नभए पनि म लखर–लखर लागेँ बसस्टपतिर । युवा सञ्जालको अन्तरक्रिया कार्यक्रम भएकोले नगइ पनि भएको थिएन । बल्ल ‘गौशाला–बानेश्वर’ कराउदै आयो एउटा भ्यागुते माइक्रो । हलुको भएको कारण म पनि आरामले बस्न पाएँ तर उल्टो सिट पाएँ । मन एकाग्र थिएन । के बोल्ने भन्ने सोच्दै गर्दा मेरा आँखा पछाडिका सिसामा टासिएँ । रातो पहिरनको प्रतिविम्ब थियो काँचमा । अन्तरमनमा कैद भएको दृश्य नियाल्दै घुम्न थाले यी मेरा चोर आँखाहरु । अन्तिम सिटमा एक्लै टोलाएर बसेको त्यो सुन्दर कलात्मक मुर्ति देखेर मलाई अलि चित्त बुझेन । कतिखेर म पनि बसाइँ सरेछु, पत्तै पाइनँ ।
“एक्सक्युज मी, त्यो झ्याल अलिकति बन्द गरौ न है ?”, मैले धेरै साहसपछि आवाज निकालेँ । आफुलाई धेरै नै स्मार्ट ठानेपछि मेरो मन गह्रौ भएको थियो । स्वर दबिएको थियो त्यो सुन्दरताको सामु । उनले पुलुक्क मतिर हेरिन अनि झ्याल बन्द गरि दिइन् मेरो आग्रह बमोजिम । “थ्याङ्क्स” मेरो जवाफमा मुस्कुराइन उनी र भनिन्, “वेलकम्” । केहिबेरको मौनतामा मलाई कताकता यो गसिपको सिलसिला टुङ्गिन्छ कि जस्तो लाग्यो र रोक्न चाहिन आफुलाई अनि फेरि सोधेँ, “हेर्दा त कुनै महत्वपूर्ण कामको लागि जादै हुनुहुन्छ जस्तो लाग्यो नि ।”
“हैन मेरो साथीको बर्थडेमा” उनले झ्यालतिर हेरिन् । के थियो र मलाई बोल्ने बहाना न चाहिएको थियो । कुराको सिलसिला अगाडि बढिसकेको हुनाले अब भने केहि राहत महशुस भएको थियो मलाई । मनमा केहि ढुक्कपन महशुस भयो ।
“बाइ त वे, तपाई सिरियस हुनु भएको देखेर मैले यो प्रश्न गरको, रिसानी चैँ माफ होस् ।” मेरो कुरा सुनेर पक्रिएको गुलाबभैmँ मुस्कान देखाप¥यो उनको मुहारमा । त्यहि मुस्कानले भरिभराऊ मुहारले मेरो मनमा डेरा जमाइ सकेछ । कति मीठो बोली, कति सुमधुर आवाज । अझ त्यो ओठमा सजिएको मुस्कानले पलपल मरिरहेको थिएँ म । सायद उनलाई बनाउने बेलामा भगवान पनि फुर्सदमा थिए । यो सोच्दासोच्दै आफैमा मुस्कुराएछु म ।
“किन मुस्कुराउन भएको ? मनमा लड्डु फुटेजस्तो छ नि ।” उनको यो कुराले म झस्किएँ । लाज लाग्यो मलाई । हासेँ मात्रै केहि बोलिनँ । फुट्न त केके फुटिसक्यो तर भन्न पो भएको छैन त । भन्दिऊँ कि जस्तो पनि लाग्यो तर सकिनँ ।
अन्तरद्वन्द्वमा टोलाउदै गर्दा हेल्पर चिच्यायो, “गौशाला झर्ने कोही छ ?”
“छ भाइ” उनको यो जवाफसँगै खङ्रङ्ग भएँ म । भित्रैबाट नमीठो लागेर आयो । उनीसँगको यो वियोग मलाई सह्य भएको थिएन । मान्छेको मन त हो कति चाँडै चिप्लिएछ, पत्तै पाइनँ । त्यो आधा घण्टाको गसिपमा पनि कति समिप्यता जगाइ सकेछ ।
“तपाईसँग भेटेर खुसी लाग्यो । गोलो पृथ्वीमा कुनै दिन भेट त पक्कै होला , बाइबाइ ।” उनले हात हल्लाई । म केहि बोल्न सकिनँ । बस हातमात्र हल्लाएँ । आज पो साइत परेको थियो त । अर्काे पटक भेटिन्छ कि भेटिदैन , के थाहा ? मेरो सातो हराएको थियो । गाडी हिड्यो । मैले मुन्टो बटारेर नेपथ्यमा कतै बिलिन नभएसम्म नियाली रहेँ उनलाई । त्योभन्दा अर्को उपाय थिएन मसँग । त्यो सुरुवातको रातो प्रतिविम्ब बोकेको काँच फुटिसकेको थियो । केवल त्यो रातो पहिरन र गुलावी मुहारमात्र सल्बलाई रह्यो मन मस्तिष्कमा ।